हिमाल हब / जेन–जी पुस्तालाई हिंसाको बाटो छोडेर समाधान खोज्न आग्रह गर्दै विगतका कमजोरी नदोहोर्याउन र जिम्मेवारी लिने संस्कृतिको विकास गर्नुपर्ने कुलमान घिसिङले बताएका छन्। “अब हिंसा होइन, समाधान हाम्रो बाटो हो। देशलाई समृद्धिको दिशामा लैजान जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ,” उनले भने।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले देशलाई स्थायित्व र विकासतर्फ लैजान सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। सोमबार सिंहदरबारमा मन्त्रालयका कर्मचारीसँगको छलफलमा उनले पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट गरे।
यसअघि पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम असुल गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। आफू प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि बक्यौता असुल्ने प्रयास गरेको तर तत्कालीन सरकारले रोक लगाएको उनले उल्लेख गरे।
