नेपालमा विदेशी नागरिक व्यवस्थापन अब डिजिटल प्रणालीबाट !

हिमाल हब / सरकारले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ। अध्यागमन विभागले गृहमन्त्री ओमप्रकाश अर्याल तथा नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीको उपस्थितिमा प्रणालीको शुभारम्भ गरेको हो।

यो प्रणाली पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलहरूमा अनिवार्य गरिएको छ भने दोस्रो चरणमा १ मार्च २०२६ देखि देशभरका तारे होटल, वायुसेवा, टुर्स एन्ड ट्राभल, मनी एक्स्चेन्ज लगायत सबै सेवा प्रदायक संस्थामा लागू हुनेछ।

विदेशी नागरिकको सुरक्षा, सूचना व्यवस्थापन, अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउन यो प्रणाली विकास गरिएको अध्यागमन विभागले जनाएको छ। प्रणालीमार्फत विदेशी नागरिकको बसोबास तथा गतिविधि व्यवस्थित हुने र आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा अझ सहज हुने विश्वास गरिएको छ।

सरकारले विदेशी नागरिकलाई सेवा दिने सबै सार्वजनिक तथा निजी संस्थालाई प्रणालीमा अनिवार्य आबद्ध हुन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *