हिमाल हब / नेपाल प्रहरीले इन्टरपोलको समन्वयमा विदेशमा लुकेका अपराधीमध्ये दश जनालाई पक्राउ गरी स्वदेश फर्काएको छ। चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध रेड नोटिस र तीन जनाविरुद्ध डिफ्युजन जारी भएकोमा रेड नोटिस भएका आठ र डिफ्युजन भएका दुई जनालाई विभिन्न देशबाट पक्राउ गरी नेपाल ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले जानकारी दिए।
अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरुद्ध रेड नोटिस र दुई जनाविरुद्ध डिफ्युजन जारी भएकामा १७ रेड नोटिस र तीन डिफ्युजन भएका प्रतिवादी पक्राउ परेका थिए। प्रवक्ता काफ्लेले अपराध गरेर जहाँसुकै लुके पनि कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए। उनले शान्ति सुरक्षा, निर्वाचन तथा अपराध नियन्त्रणमा नेपाल प्रहरी सक्रिय रहेको पनि स्पष्ट पारे।
