घरदैलोमै मतदाता शिक्षा, फागुन १७ गतेसम्म अभियान चल्ने।

हिमाल हब / प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन ३ देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा आएको छ। निर्वाचन आयोग ले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयन सुरु गरेको हो।

आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम फागुन १७ गतेसम्म देशका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ। प्रत्येक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ।

स्वयंसेवकहरूले घरदैलोमै पुगेर नमुना मतपत्रमार्फत मतदान गर्ने तरिका र निर्वाचनको महत्वबारे जानकारी गराउने आयोगले जनाएको छ। प्रभावकारी मतदाता शिक्षाले मतदाता सहभागिता बढाउने र बदर मत घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रम सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार र सञ्चार क्षेत्रसँग सहयोग र समन्वयका लागि आयोगले आग्रह गरेको जानकारी प्रवक्ता नारायणप्रसाद भट्टराईले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *