हिमाल हब / नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालैको निर्वाचन परिणामले जनताले पार्टीको नीति र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जनताले मतदानमार्फत शान्तिपूर्ण तरिकाले एमालेको नीति र नेतृत्वलाई अस्वीकार गरेको संकेत दिएको बताएका हुन्।
भट्टराईले भदौ २३ र २४ पछि पार्टीले लिएको नीतिप्रति आफूले पहिलेनै असहमति जनाएको पनि स्मरण गराएका छन्। उनले त्यतिबेला पार्टीका बैठक तथा महाधिवेशनमा पनि आफ्नो धारणा राखे पनि त्यसलाई स्वीकार नगरेको उल्लेख गरेका छन्।
अब पार्टीभित्र नीति र नेतृत्वबारे पुनः खुला बहस हुनुपर्ने उनको भनाइ छ। यस्तो बहसले पार्टीलाई सुधार गर्दै पुनः सशक्त बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
सही नीति, सुदृढ संगठन, सक्षम नेतृत्व र सकारात्मक कार्यशैली अपनाएमा एमाले फेरि बलियो रूपमा अघि बढ्न सक्ने भट्टराईले बताएका छन्। उनले यस प्रक्रियाले पार्टी मात्र नभई जनता र राष्ट्रको स्वाभिमानलाई पनि बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
