काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’को आधुनिक रुप ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट पारे।
‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको उनले बताए।
प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए।
‘हामी उठ्न नसक्ने कुनै कारण छैन। हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौं,’ उनले भने, ‘चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट उठायो। हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्छ। लागेपछि नेपाल बन्छ।’
