अध्यक्षले मनोनयन गर्ने व्यवस्थालाई लिएर विवाद गर्न हुँदैनः टान पूर्वअध्यक्ष

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) मा अध्यक्ष सागर पाण्डेले ५ जना सदस्य मनोनयन गरेको विषयलाई लिएर कार्यसमितिमा असन्तुष्टी पैदा भइरहँदा टानका पूर्वअध्यक्षहरुले टानको विधानमा अध्यक्षले मनोनयन गर्ने व्यवस्थालाई लिएर विवाद गर्न नहुने बताएका छन् ।

उनीहरुले ६ जना सदस्य मनोनयन गर्ने विधान व्यवस्था अनुसार सो कार्य अध्यक्षको अधिकार भएको उल्लेख गरे । टानका पूर्वअध्यक्ष खुम सुवेदीले सदस्य बनोनयन गर्ने कुरा अध्यक्षको अधिकार भएको बताए । उनले कस-कसलाई मनोनयन गर्ने भन्ने कुरा अध्यक्षको अधिकार भएको भन्दै यसरी मनोनय गरिएकाहरुलाई मनोनयन पछि कार्यसमिति बैठकले माइनुट गरेर आधिकारीकता दिनुपर्ने बताए ।

उनले सामान्य विवाद हुनु र कसैले आफूलाई मनोनित गरेन भनेर चित्त दुखाउनु सामान्य कुरा भएको उल्लेख गरे । ‘सबैको मन राख्न सकिँदैन, एउटालाई मनोनित गर्दा अर्को रिसाउनु सामान्य हो, मेरो कार्यकालमा पनि सामान्य विरोध भएकै थियो, यस्तो जुनसुकै संस्थामा पनि भइरहन्छ’ उनले भने ।

टानका अर्का पूर्वअध्यक्ष ज्योति अधिकारी राजनीकि भागबन्डाका लागि अनावश्यक सदस्य संख्या राखिएको बताउँछन् । आवश्यक भन्दा धेरै मनोनयन गरेर संख्या बनाउनुपर्ने यस अघिको नीतिगत निर्णय नै गलत भएको अधिकारी बताउँछन् ।

‘टान नितान्त व्यवसायीक संस्था हो, यहाँ राजनीतिक भागबन्डा गर्ने, राजनीति घुसाउने, विरोध गर्ने जस्ता कार्यहरु अनावश्यक हो’ उनले भने ‘धेरै संख्या क्रम पुर्‍याउनै कठिन हुन्छ, काम गर्ने भनेको अध्यक्ष, महासचिव र कोषाध्यक्षले हो, अरु पनि सक्रिय भएको राम्रो, तर राजनीतिक भागवण्डाको लागि धेरै सदस्य मनोनयन गर्नुपर्ने नीति नै गलत छ’ उनले भने । पर्यटन विकासका लागि सहकार्य गरेर अघि बढ्नुपर्ने र टानमा निर्वाचित भइसकेपछि राजनीतिक पूर्वाग्रह राख्नु गलत हुने उनको भनाई छ ।

टानमा लामो समयदेखि सिइओका रुपमा कार्यरत रामचन्द सेढाई यसअघि अध्यक्षले मनोनयन गर्ने प्रकृयालाई अहिलेका अध्यक्षले निरन्तरता दिएको बताउँछन् । ‘यो विधान अनुसार नै गर्ने हो, पहिला पनि यसैगरी मनोनित गरिन्थ्यो’उनले भने ।

यस्तै टानका कोषाध्यक्ष गौतम वाग्लेले आफू बाहिर भएको र हालै मात्रै काठमाडों आएको बताउँदै संस्थामा विवाद हुन नहुने बताए । उनले आफूले पनि यो कुरा अनलाईन खबरबाट थाहा पाएको बताए । ‘सहकोषाध्यक्षले के हिसावले विरोध गर्नुभयो उहाँलाई थाहा होला, संस्थामा एक भएरै अघि बढ्नुपर्छ विवाद हुनु राम्रो होइन्’ उनले भने म हिजो मात्रै आइपुगेको छु । छलफल गरेर समस्या समाधानतर्फ लाग्छु ।’

टान अध्यक्ष सागर पाण्डेले हालै विष्णु थापा, राजेन्द्र अम्गाई, नकुल देवकोटा, विष्णु बराकोटी र बासु रिमाल गरी पाँच जनालाई सदस्य पदमा मनोनित गरेका थिए । थप एकजना सदस्य मनोनयन गर्न बाँकी छ । टानको विधान अनुसार ६ जना सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
जानकारहरुका अनुसार यसपाली राजनीतिक संगठनको पक्ष र स्वतन्त्र पक्ष गरी दुई खेमाकाबीच निर्वाचन हुँदा स्वतन्त्र पक्ष सागर पाण्डेले अध्यक्षमा चुनाव जितेका कारण दलिय संगठनका व्यक्तिहरुले अध्यक्षको कदममा विरोध जनाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *