काठमाडौं । हिमाल आरोहण खटिने सरदारले १ हजार ५ सय रुपैयाँ दैनिक भत्ता पाउने भएका छन् । यसअघि उनीहरुले दैनिक ४ सय रुपैयाँ भत्ता पाइरहेको बेला सरकारले बढाएर १ हजार ५ सय रुपैयाँ पुर्याएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्वतारोहण सम्बन्धी (छैटौँ संशोधन) नियमावली २०८१ मार्फत हिमाल आरोहणमा खटिने कामदारले पाउने ज्याला बढाउने निर्णय गरेको हो ।
उक्त निर्णण् अनुसार यसअघि दैनिक ३५० रुपैयाँ भत्ता पाएका पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारले अब दैनिक १ हजार २ सय रुपैयाँ पाउने भएका छन् ।
आधार शिविरमा खटिने कामदारको ज्याला दैनिक १ हजार पुगेको छ । यसअघि दैनिक ३ सयमात्र थियो । यस्तै, ३ हजार ७ सय मिटरसम्म उचाइमा जाने स्थानीय कामदारलाई भने दैनिक ८ सय र त्यसभन्दा माथि जाने स्थानीय कामदारको ज्याला दैनिक १ हजार पुगेको छ ।
आरोहणमा खटिने कामदारको दैनिक भत्तासँगै सरकारले बीमा समेत बढाएको छ । उक्त नियमावी अनुसार अब सरदार, पर्वतीय पथप्रदर्शक र उचाइ (अल्टिच्युड) मा जाने कामदारको बीमा २० लाख रुपैयाँ पुगेको छ । यसअघि यी कामदारको बीमा १५ लाख रुपैयाँ थियो ।
आधार शिविरका कामदारको भने १५ लाख बराबर बीमा पुगेको छ । यसअघि यी कामदारको बीमा ८ लाख रुपैयाँ थियो ।
पर्वतारोहण दलले पर्वतारोहणमा जानुअघि साथमा जाने सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथप्रदर्शक, उचाइमा जाने कामदार तथा आधार शिविरका कामदारलाई पर्वतारोहण अभियान समाप्त गरी नफर्केसम्म सरकारबाट मान्यता प्राप्त बीमा कम्पनीसँग व्यक्तिगत दुर्घटना बीमा गराउनुपर्ने प्रावधान छ । सम्पर्क अधिकृतका लागि १५ लाखको बीमा तोकिएको छ ।
