काठमाडौं । सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरुद्ध ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा आज (मंगलबार) मुद्दा दर्ता भएको हो ।
सरकारी वकिल कार्यालयले लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको छ। रविसहितलाई ठगी तथा संगठित अपराध अभियोगमा मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपियाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो देखाइएको छ ।
